“दमै-दमको सहर: काठमाडौँ अब नम्बर १!

काठमाडौँ उपत्यकाको वायुमण्डल यतिबेला डरलाग्दो गरी प्रदूषित बनेको छ। बिहान १० बजेसम्मको मापनअनुसार उपत्यकाको वायु गुणस्तर सूचक (AQI) २४७ सम्म पुगेको छ, जुन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिन्छ। दुई सयभन्दा माथिको AQI ले उपत्यकाको हावामा विषालु कणहरूको मात्रा अत्यधिक बढेको पुष्टि गर्छ। अहिले काठमाडौँ विश्वकै सबैभन्दा बढी प्रदूषित सहरहरूको सूचीमा पहिलो नम्बरमा उक्लिएको छ।

वातावरण विभागका अनुसार देशभरका मापन केन्द्रहरूले रातो सङ्केत दिइरहेका छन्। वर्षा नहुनु, लामो समयको सुख्खायाम, खेतबारीमा आगो लगाउने प्रवृत्ति र देशभरि फैलिरहेको वन डढेलो प्रदूषणको मुख्य कारक बनेका छन्। वन तथा भूसंरक्षण विभागका अनुसार अहिले पनि देशका ७८ भन्दा बढी स्थानमा डढेलो लागिरहेको छ। प्रदूषणको यो स्तरले श्वासप्रश्वास र मुटुसम्बन्धी गम्भीर रोगको खतरा बढाएको छ। स्वास्थ्य विज्ञहरूले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, निस्कनै परे अनिवार्य मास्कको प्रयोग गर्न र सावधानी अपनाउन कडा चेतावनी दिएका छन्।