मूल्य नपाएपछि तरकारी बजारका व्यापारीहरुले गोलभेंडा सडकमा फ्याँके

कालिमाटी तरकारी बजारका व्यापारीहरुले उचित मुल्य नपाएको भन्दै गोलभेंडा सडकमा फ्याँकेका छन् । आइतबार बजारमा खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेका हुन् ।

कालिमाटी थोक तथा खुद्रा बजार समितिका अनुसार आइतबार बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर विरोध गरेका हुन् । कालिमाटी बजार बिकास समितिले आइतबारका लागि सानो गोलभेंडाको थोक बिक्री मूल्य ८ रुपैयाँ प्रतिकिलो तोकेको छ । तर, काठमाडौंमा खुद्रा बजारमा प्रतिकिलो न्युनतम ३० रुपैयाँसम्म गोलभेंडा बिक्री भइरहेको छ ।

कालिमाटीकै केहि तरकारी व्यापारीहरुले भने मुल्य बढाउन यसो गरिएको आशंका गरेका छन् । तर गोलभेंडा फालेका व्यापारीहरुले भने किलोको ४ रुपैयाँमा पनि गोलभेडा बिक्रि नभएको दाबी गरेका छन् । यस अघि केहि महिना अघि उचित बजार मुल्य नपाएको भन्दै चितवनका किसानले पनि गोलभेंडा सडकमा फ्याँकेका थिए ।