आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलो जित हात पारेको छ। मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्यो। अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्यो।
नेपालको जितमा भीम सार्कीले अर्धशतक प्रहार गर्दै नटआउट ७७ रन जोडे। उनले ११४ बलमा ७ चौका र १ छक्का हिर्काए। यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ३९ रन जोडे। उनले ३२ बलमा ५ चौका र १ छक्का हिर्काए।
यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनायो । उसका सयन जंहागीर १०० रनमा अविजित रहे ।
अमेरिकाको सुरुवात निकै खराब थियो । करण केसीलको घातक बलिङले १९ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाइसकेको थियो ।
तर सुशान्त मदानी र गजानन्द सिंहले पारी सम्हाले । दुबैले पाँचौं विकेटका लागि ४७ रनको साझेदारी गरे । २२औं ओभरको तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीले यो साझेदारी तोडे । २६ रन बनाएका गजानन्दलाई आरिफ शेखले स्लिपमा क्याच गरे ।
तर सातौं नम्बरमा ब्याटिङ गर्न आएका जंहागीरले क्रिजमा डटेर खेले । उनले छैटौं विकेट मदानीसँग २९ रनको साझेदारी गरे । ४२ रन बनाएका मदानीलाई ललित राजवंशीले क्लिन बोल्ड गरे । निसर्ग पटेलले ३४ रनको साझेदारी गरे, पटेललाई गुल्सन झाले विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।
त्यसपछि आएका जेस्सी सिंहले जंहागीरसँग ४२ रनको साझेदारी गरे । जेस्सीलाई दिपेन्द्र सिंह ऐरीले कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराए ।
क्रिजमा टिकेर बाउण्ड्री समेत हानिरहेका जंहागीरले नवौं विकेटका लागि सौरभ नेत्रभालकरसँग ३७ रनको साझेदारी गरे । त्यसक्रममा उनले ४८.३ ओभरमा शतक पूरा गरे । ५६ बलमा करियरमै पहिलो पटक ५० रन पूरा गरेका उनले थप २३ बलमा अर्को ५० रन थपेर शतक पूरा गरे ।
अर्को बलमा गुल्सनले नेत्रभालकरलाई बोल्ड गरे । अन्तिम ब्याट्सम्यानका रुपमा क्रिजमा आएका क्याल फिलिपले पहिलो बलमा रन जोड्न सकेनन् । अर्को बलमा योर्कर फालेका गुल्सनले एलबीडब्लू धरापमा पारे र अमेरिका २०७ रनमा अलआउट भयो ।
नेपालका करण केसी एक्लैले ४ विकेट लिए भने गुल्सन झाले ३, दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए । सन्दीप लामिछाने भने आज पनि विकेटविहीन रहे । १० ओभर बलिङ गरेका उनले ५८ रन दिएका थिए ।
