ललितपुर – ललितपुरको दक्षिणी भेगस्थित खोकनामा रुद्रायणी देवीको १२ वर्षे जात्राका लागि रुद्रायणी देवीसहित मन्दिरभित्रका देवीदेवतालाई गुफा (गुप्तवास) राखिएको छ । शनिबार तान्त्रिक विधिपूर्वक पुजाआजा गरी रुद्रायणी, भैरव, कुमारी, गणेश, करुणामय, इन्द्रायणी, बाराही, ब्रम्हा, विष्णु, महेश्वरसहित १४ देवगणलाई गुफा राखिएको हो ।
देवगणको शक्ति सञ्चयको रुपमा लिइने गुफामा एक महिनासम्म पुजारीले हरेक दिन धार्मिक विधिपूर्वक पूजाआजा गरिन्छ । यो अवधिमा खोकनाबासीले धार्मिक कार्य गर्न, पशुबली दिन, छालाका सामान प्रयोग गर्न, बुबाको मुख हेर्न र जंकु गर्न नहुने मात्र होइन मनोरञ्जनसमेत गर्न नहुने मान्यता छ ।
त्यस्तै गुफाको समयमा एक महिना खोकनामा स्थानीयले कुनै पनि मनोरञ्जनात्मक तथा धार्मिक कार्यदेखि लुगा धुन, नुहाउनसमेत नहुने मान्यता छ । गुप्तबासको अवधि एक महिनासम्म मन्दिरको ढोका खोलिदैन । यस अवधिमा खोकनाबासीले लुगा धुने, टिभी हेर्ने, बाजा बजाउने, पुजाआजा गर्ने लगायतका कार्य नगर्ने चलन छ । त्यस्तै महिनाभर छालाका सामग्री प्रयोग गर्न पाइँदैन । स्थानीय बासिन्दा खोकनाबाहेक अन्येत्र बास बस्न नपाउने एवं बाहिरका मानिस खोकनामा बास बस्न नमिल्ने चलन छ ।
एक महिनाको गुफापछि दसैंको घटस्थापनाको भोलिपल्टदेखि १२ वर्षे मेला औपचारिक रुपमा सुरु हुन्छ । ७ सय घरपरिवार रहेको खोकनामा जात्राका क्रममा म्हपुजा, किजापुजा भाइटिकासमेत गर्नुहुँदैन । तन्त्र साधनामय परम्परागत नृत्यको १२ वर्षे जात्राका क्रममा धार्मिक र सामाजिक कार्य गरे अशुभ हुने स्थानीय बताउँछन् ।
मेला एक वर्षसम्म चल्नेछ । यस अवधिमा पाटन र काठमाडौं दरबार क्षेत्रका ६ स्थानमा र उपत्यकाका विभिन्न स्थानमा नृत्य देखाउनु पर्ने र महिनौंसम्म भोज खुवाउनु पर्ने भएकाले करिब १ करोड खर्च हुने अनुमान गरिएको छ । त्यसका लागि ललितपुर महानगरपालिकाबाट ६५ लाख रुपैयाँ प्राप्त भइसकेको र बाँकी सहयोग संकलनको क्रममा रहेको गुठीले जनाएको छ ।
