काठमाण्डाै – गैरआवासीय नेपाली संघ (एनआरएनए)को सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । चुनावी परिणामलाई लिएर विवाद भएपछि एनआरएनएका वर्तमान अध्यक्षहरु कूल आचार्य, रविना थापा र बद्री केसीले निर्वाचन प्रक्रिया थप अघि नबढाउन सर्कुलर जारी गर्नुभएको हो ।
निर्वाचन कमिटीले बिहीबार सम्पन्न निर्वाचनपछि मतपरिणाम घोषणा गर्दै डा. बद्री केसी अध्यक्ष निर्वाचित भएको घोषणा गरेको थियो । तर, अध्यक्षमा केसीसँग प्रतिस्पर्धा गरेका महेश श्रेष्ठ र आरके शर्माले निर्वाचनमा धाँधली भएको भन्दै मतपरिणाम अस्वीकार गर्ने बताउनु भएको थियो । उहाँहरुले शुक्रबार नै सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरी पुनः चुनाव गराउन माग गर्दै प्रमुख निर्वाचन अधिकृत समक्ष निवेदन समेत दिनु भएको थियो ।

