जाजरकोट भूकम्प अपडेटः ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

काठमाण्डाै –  जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट ज्यान गुमाउनेको संख्या १०० नाघेको छ । पछिल्लो जानकारी अनुसार जाजरकोटमा ८६ र रुकुम पश्चिममा २७ जनाको ज्यान गएको छ ।

जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । धेरै घाइते भएका र उद्धारको काम भैरहेको उहाँले बताउनुभयो। उहाँका अनुसार भूकम्पका कारण सयौँ घर भत्किएका छन् । 

यस्तै, भूकम्पका कारण रुकुम पश्चिममा २७ जनाको ज्यान गएको छ । ५३ जना घाइते भएका छन् । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले रातिदेखि नै खोज तथा उद्धारको काम भैरहेको जानकारी दिनुभयो ।

गएराती ११ बजेर ४७ मिनेटमा गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा ठुलो मानवीय र भौतिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयले विवरणहरू आउने क्रम जारी रहेको जनाएको छ ।

भूकम्पले घर भत्किँदा घाइते भएकाहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । अहिले पनि उद्धारको क्रम जारी रहेको प्रहरीले जनाएको छ ।