नेपाल सम्वतको नयाँ वर्षको अवसरमा हरेक वर्ष चाँदीको सिक्का निष्काशन गर्दै आएको भिन्तुना गुथिले यस वर्ष पनि यो क्रमलाई निरन्तरता दिएको छ। गुथिले गएको शनिवार नेपाल संबतको नयाँ वर्ष ११४४ को अवसरमा जीवित देवी कुमारीको बाहुलीबाट चाँदीको नयाँ सिक्का लोकार्पण गरेको हो।
हरेक वर्ष गुथिले काठमाण्डौंकी लाय्कू कुमारीको बाहुलीबाट चाँदीको सिक्का निष्काशन गर्दै आइरहेको छ। गुथिका सदस्यहरु बसन्तपुरस्थित कुमारीघरमा गएर कुमारीको दर्शनसहित चाँदीको सिक्का चढाएर लोकार्पण गर्ने गरिएको छ। यस वर्ष नेपालभाषा साहित्य क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका कवि सिद्धिरत्न कसाःको चित्र अंकित सिक्का निष्काशन गरिएको छ।

नेपालभाषाको क्षेत्रमा योगदान गरेका स्रष्टाहरूलाई कदर गर्दै कालान्तरसम्म पनि उहाँहरूको योगदानलाई जीवित गर्ने उद्धेश्यसहित यस्तो सिक्का निष्काशन गर्ने गरेको गुथिले जनाएको छ।
गुथिले अहिलेसम्म राष्ट्रिय विभूति शंखधर साख्वाः, चित्तधर ‘हृदय’, मोतिलक्ष्मी उपासिका, योगवीर सिंह कसाः, लगायतको गरी १५ जना विभिन्न व्यक्तिको चित्र अंकित चाँदीको सिक्काको निष्काशन गरिसकेको छ। स्वन्ति / तिहार पर्वको अवसरमा लक्ष्मीपूजाका दिन लक्ष्मी देवीको पूजाको गर्ने क्रममा चाँदीको सिक्का चढाउने चलन नेवार समाजमा छ।
