वाइल्ड वुल्स प्रोडक्सनद्वारा निर्मित नेपाल भाषाको चलचित्र “तिव: द सपोर्ट” को आधिकारिक पोष्टर सार्वजनिक गरिएको छ। काठमाडौंमा केही साता अघि एक समारोहबीच सो पोष्टर सार्वजनिक गरिएको थियो भने, द हिमालयन भाइब्सको संयोजनमा अनलाईन मार्फत गएको शनिबार विश्व भरि सार्वजनिक गरिएको हो।
अनलाईन सार्वजनिक सत्रमा चलचित्रका निर्देशक रवि सायमी र कलाकार आशा काजी थकुसंगै द हिमालयन भाइब्सका सदस्य र कलाकारहरुको उपस्थिति थियो।
अहिले धेरै नेपाली परिवारमा एक न एक जना सदस्य विदेशिनु परेको बाध्यता छ। यसरी विदेशिनु पर्दा स्वदेशमा र विदेशमा रहेका पारिवारिक सदस्यहरुमा चल्ने भावनात्मक उतार चढावको विषयवस्तुको आधारमा यो चलचित्र बनेको निर्देशक सायमीले बताउनु भयो। पारिवारिक विषयवस्तुमा बनेको चलचित्र हुनाले यो चलचित्रलाई धेरैले मन पराउने विश्वास कलाकार थकुले गर्नु भएको छ।
सुशील राजोपाध्याय, सरस्वती मानन्धर, संघ रत्न शाक्य, आशा काजी थकु, कृष्ण भक्त महर्जन लगायतको प्रमुख भुमिका रहेको चलचित्रका निर्माता सरजु रंजित र समिता रंजित श्रेष्ठ हुनुहुन्छ। अमर चित्रकारको छायांकनमा बनेको चलचित्रमा भुपेन्द्र बज्राचार्य र शिव शाहीले संगीत दिनुभएको छ।
कथा अनुसार केहि पात्रहरु अमेरिका आधारित भएको हुनाले यस चलचित्रका केहि दृश्यहरु अमेरिकाको मेरिल्याण्डमा पनि छायांकन गरिएको छ। अमेरिकाको प्राविधिक निर्माण पक्ष द हिमालयन भाइब्सले सम्हालेको हो। यस चलचित्रमा अमेरिकाबाट दिभाकर धौभडेल, मिला श्रेष्ठ, रबि शाक्य, ललिता महर्जन, जयम्बु रंजित र मार्कन्दय मान सिंह प्रधानले अभिनय गर्नु भएको छ।
द हिमालयन भाइब्सको तर्फबाट निर्माण नियन्त्रण जिम श्रेष्ठले गर्नु भएको हो भने छायांकन, सम्पादन र निर्देशनको जिम्मा रोशन लाल श्रेष्ठले लिनु भएको हो।
निर्देशक सायमीका अनुसार तिहार पछि यो चलचित्र प्रदर्शनमा आउने छ। नेपालमा आधिकारिक प्रदर्शन पछि अमेरिकाको विभिन्न शहर र राज्यहरुमा पनि प्रदर्शन गरिने जानकारी अमेरिकाका लागि निर्माण नियन्त्रक जिम श्रेष्ठले दिनुभयो।
