कार्तिक नाच मंसिर २ गतेदेखि

ललितपुर – ३८२ वर्ष देखि निरन्तर रुपमा संचालन भइरहेको ललितपुरको ऐतिहासिक कार्तिक नाच आउँदो मंसिर २ गतेदेखि संचालन हुँदैछ । यसवर्ष नाच १० दिन संचालन गरिने कार्तिक नाच संरक्षण समितिले जनाएको छ । मंसिर ११ गतेसम्म मंगलबजारको कात्तिक दबलीमा बेलुकी ७ बजे नाच देखाइनेछ ।
हरेक दिनको नाचको लागि पाटन दरबार क्षेत्रमा रहेको नासल चोकमा ९० जना कलाकार भेला भएर नाचको तयारीमा ब्यस्त हुने गर्दछन् । विशेष गरेर कृष्ण लिलामा आधारीत नाचमा दिनैपिच्छे फरक फरक नाचहरु देखाइने गरिन्छ। नाचमा दैत्य जगाउने परम्परा छ ।
बाथ नाच देखाएर शुरु हुने कात्तिक नाच मंसिर ११ गते दधिलिलाको नाच देखाएर समापन गरिनेछ भने कार्तिक नाचको मुख्य आकर्षण नृसिहं अवतार मंसिर ९ गते देखाइनेछ।
यस नाचमा राजोपाध्याय , श्रेष्ठ , प्रधान , अमात्य, जोशी, मल्ल लगायत नेवार समुदाय भित्रको विभिन्न जातको प्रतिनिधित्व हुने गर्दछ । नेपाल सम्वत ७६१ साल देखि निरन्तर प्रदर्शन भइरहेको नाच यसपाली ३८३ वर्ष पुगेको छ ।