काठमाण्डाै – असनको तुलाधरहरूको श्री दिगुख्यः गुथिले नेपाल सम्वतको नयाँ वर्ष ११४४ को अवसरमा क्यालेन्डर प्रकाशन गरेको छ। गुथिका अध्यक्ष तारा वीरसिंह तुलाधरको सभाअध्यक्षतामा पकनाजोलमा बुधबार भएको कार्यक्रममा क्यालेन्डरको लोकार्पण गरिएको हो।
गुथिका संरक्षक समूहका अध्यक्ष मोतिकाजी तुलाधर र गुथिका कार्य समितिका अध्यक्ष तारा वीरसिंह तुलाधरले संयुक्त रूपमा क्यालेन्डरको लोकार्पण गर्नुभएको हो। तिहार पर्व र नव वर्षको अवसरमा विभिन्न संघ संस्थाहरूले शुभकामना आदान प्रदान गरिरहेको समयमा श्री दिगुख्यः गुथिले पनि शुभकामना आदानप्रदान गर्दै क्यालेन्डरको लोकार्पण गरेको हो ।
कार्यक्रममा कार्य समितिका सचिव विजय रत्न तुलाधरले कार्यसमितिको गतिविधि सहित आगामी कामका बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा गुथिका संरक्षक समूहका सचिव स्वयम्भू रत्न तुलाधर, श्री दिगुख्यः गुथिका महिला समूहका अध्यक्ष प्रेमहिरा तुलाधर, गुथिका निवर्तमान अध्यक्ष रमेश तुलाधर लगायतले आआफ्ना मन्तब्य राख्नुभएको थियो । गुथिका विद्या रत्न तुलाधरले सन्चालन गर्नुभएको कार्यक्रममा गुथिका कार्य समितिका उपाध्यक्ष विद्या सागर तुलाधरले धन्यवाद मन्तब्य राख्नुभएको थियो। कार्यक्रममा क्यालेन्डरको डिजाइन/लेआउट जुजुरत्न तुलाधरले र क्यालेन्डर निर्माणमा आवश्यक दिन/तिथि/ चाडपर्व प्रविष्ट गर्ने कार्य पौभाः साय्मिले गर्नु भएको जानकारी समेत दिइएको थियो
