ललितपुर – ३८२ वर्ष देखि निरन्तर रुपमा संचालन भइरहेको ललितपुरको ऐतिहासिक कार्तिक नाच आजदेखि संचालन हुँदैछ। आज बाथ नाचअन्तर्गत माकसि बेच्ने नाच देखाएर कार्तिक नाच शुरु हुनेछ।
यसवर्ष नाच १० दिन संचालन गरिने कार्तिक नाच संरक्षण समितिले जनाएको छ । मंसिर ११ गतेसम्म मंगलबजारको कात्तिक दबलीमा बेलुकी ७ बजे नाच देखाइनेछ ।
हरेक दिनको नाचको लागि पाटन दरबार क्षेत्रमा रहेको नासल चोकमा ९० जना कलाकार भेला भएर नाचको तयारीमा ब्यस्त हुने गर्दछन् । विशेष गरेर कृष्ण लिलामा आधारीत नाचमा दिनैपिच्छे फरक फरक नाचहरु देखाइने गरिन्छ। नाचमा दैत्य जगाउने परम्परा छ ।
यस वर्षको कात्तिक नाच मंसिर ११ गते दधिलिलाको नाच देखाएर समापन गरिनेछ भने कार्तिक नाचको मुख्य आकर्षण नृसिहं अवतार मंसिर ९ गते देखाइनेछ।
यस नाचमा राजोपाध्याय , श्रेष्ठ , प्रधान , अमात्य, जोशी, मल्ल, शाक्य, चित्रकार लगायत नेवार समुदाय भित्रको विभिन्न जातको प्रतिनिधित्व हुने गर्दछ । नेपाल सम्वत ७६१ साल देखि निरन्तर प्रदर्शन भइरहेको नाच यसपाली ३८३ वर्ष पुगेको छ ।
