ललितपुर – आफ्नो समुदायभित्रका लुकेका प्रतिभाको खोजी गर्ने उद्वेश्यसहित राजोपाध्याय समाजले गायन प्रतियोगीताको आयोजना गरेको छ। हिजो शनिबार ललितपुरमा आयोजित प्रतियोगीताको फाइनल स्पर्धामा सक्षम शर्मा प्रथम, सुभिया राजोपाध्याय् दोश्रो र सौरभ राजोपाध्याय् तेश्रो हुनुभएको छ।
कलानिधि इन्दिरा संगीत महाविद्यालयका प्रधानाध्यापक धनबहादुर गोपाली, संगीत संयोजक भुपेन्द्र बज्राचार्य र नेपालका पहिलो हवाइन गितारबादक ईश्वर जोशी सम्मिलित निर्णायक मण्डलले प्रतियोगीहरूको गायन क्षमताको मुल्याकंन गरेको थियो।
२०७६ फागुन १७ गते भएको अडिसनबाट छानिएका प्रतियोगीहरूबिच फाइनलमा प्रतिस्पर्धा भएको हो भने उक्त अडिसनबाट सक्षम, सुभिया र सौरभसहित नृश्र्मा, बबिन, शुभद्रिका, राजेश्वरी र शिरिष चयन हुनुभएको थियो।

विजयी प्रतियोगीहरुलाई ट्रफि प्रदान गर्दै निर्णायक गोपालीले गायन, सुर, ताल, भाषिक स्पष्टता लगायतको आधारमा प्रतियोगीहरूको गायन क्षमताको मूल्याकंन गरेको बताउँदै गायन क्षेत्रले अहिले समाजमा प्रतिष्ठित ठाँउ ओगट्न सकेकोले आफ्ना छोराछोरीलाई यस क्षेत्रमा लाग्नका लागि वातावरण तथा हौसला प्रदान गर्न अभिभावकहरूलाई आव्हान गर्नुभयो।
प्रतियोगीताका संयोजक एवमं समाजका संस्थापक अध्यक्ष बदन ज्वालानन्द राजोपाध्याय र अध्यक्ष संजय शर्मा राजोपाध्यायले गायन प्रतियोगीताको उद्वेश्यसहित समाजको गतिविधिकाबारेमा जानकारी दिनुभएको थियो।
कार्यक्रममा गायक सुरजबीर बज्राचार्य, निर्णायक मण्डलका सदस्य भुपेन्द्र बज्राचार्यले गायन तथा मुनिन्द्र ज्वालानन्द राजोपाध्याय र विनित ज्वालानन्द राजोपाध्यायले सारंगी र बाँसुरी वादन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा समाजका निर्वतमान अध्यक्ष एवमं वरिष्ठ संगीतकार अमर राज राजोपाध्याय् लगायतको उपस्थिति थियो भने कार्यक्रम माधुरी मनसा शर्माले संचालन गर्नु भएको थियो।

विजेताहरूलाई नगद पुरस्कार समाजको वार्षिक साधारण सभामा प्रदान गरिने समाजले जनाएको छ।
