काठमाडौँ– बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ। अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको छ ।
गएको पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएअनुसार बुधबार साँझदेखि काठमाडौँका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनु भयो।
कुँवरका अनुसार आयोजनाले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बुधबार साँझदेखि काठमाडौँका लागि पानी पठाइएको छ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिनु भयो।
बाढीका कारण रोकिएको पानी काठमाडौँ ल्याउन मन्त्री यादवसहित खानेपानी सचिव सुरेश आचार्य र मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक अन्सारी सक्रियरुपमा लागेको मन्त्री यादवका स्वकीय सचिव टंक धमलाले जानकारी दिनु भयो।
