काठमाडौं – टाेखाको ऐतिहासिक सपनतीर्थ (सपनविनायक गणेश) मूर्तिको जिर्णाेद्वार तथा प्राणप्रतिस्थापन गरिएको छ । ऐतिहासिक सपनतीर्थ (सपनविनायक गणेश) मूर्तिको जिर्णाेद्वार तथा प्राणप्रतिस्थापन बुधबार गरिएको हो।
सपनतिर्थ मन्दिरमा धार्मिक विधि र परम्पराअनुसार पूजाअर्चना गरी सपनतिर्थ द्यः छेंका परिवारको आयोजनामा भएको धार्मिक समारोहबीच मूर्तिको प्रतिस्थापन गरिएको सपनतिर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगोलले बताउनुभयो ।
धार्मिक तथा साँस्कृतिक परम्परा अनुसार जिर्ण भएको मूर्तिको स्थानमा नयाँ मूर्ति राख्नु पर्ने भएकाले सपनविनायकका पूजारी समेत रहेका स्वर्गिय ज्ञानवीर तथा रत्नमाया डंगोलका छोराहरु धनवीर डंगोल, रामकृष्ण डंगोल र देवराज डंगोलले नयाँ मूर्तिको प्रतिस्थापना गर्नुभएको हो ।
मूर्तिको जिर्णाेद्वार तथा प्राणप्रतिस्थापन मुलनायः हेमराज श्रेष्ठ , टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ,नेवाः गुथि टाेखाका अध्यक्ष रमेश नापित ,नेवाः गुथि टाेखाका महासचिव हेराकाजी डंगोल ,नेवाः गुथि टाेखाका सल्लाहकार अष्ट नारायण डंगोल,समाजसेवी , सास्कृतिक अभियन्ता सुशान्त डंगोल, नायखिं बाजा ,सपनतीर्थ दाफा खल: , सपनतीर्थ धिमेखल, सपनतिर्थ समितिका पदाधिकारी, र स्थानीयको उपस्थितिमा बाजागाजासहित सपनविनायक गणेशको मूर्तिको प्राण प्रतिष्ठाको कार्यक्रम अध्यक्ष देवराज डंगोलको आतिथ्यमा भएको थियो । सपनविनायकको मूर्ति प्रतिस्थापन गर्ने कार्यमा रामकृष्ण डंगोलको विशेष योगदान छ ।
छोरा पाउने आशाले गणेशलाई पैसा वा लड्डु चढाउने वा अन्य भाकल गर्ने चलन यहां प्रचलित छ। छोरा नभएको व्यक्तिलाई छोरा दिने विनायकको रूपमा सपन विनायक गणेशलाई लिइन्छ। देश विदेश गएका आफ्ना आफन्तहरूको कुनै खबर नआएमा यो गणेशको पुजा गर्दा छिटो समाचार प्राप्त हुने लोक कथन छ।
त्यस्तै लाभ, र बुद्दीका स्वामी सपनविनायकलाई बुद्दि , ज्ञान, कला , कौशल र शीप आदिको प्रदाता मानिन्छ।टोखाका नेवार समुदायमा नवबधूलाई कुल देवताकोमा लगी कुल परिवारमा समावेश गर्नुअघि विवाहोत्सवको लगतै पछि सबै काम निर्विध्न सम्पन्न पारिदिने , मनोकामना पूर्ण गरिदिने , छोरा प्रदान गर्नै तथा सर्वदेवमय भगवान सपन विनायकको दर्शन गराउने पुरातन धारणा अद्यपी कायम नै छ।




