काठमाण्डौ –नेपालबाट चोरी भएर अमेरिका पुगेका चार वटा ऐतिहासिक कलाकृति फिर्ता भएका छन्। अमेरिकाका बिभिन्न संग्रहालयमा राखिएका चार वटा कलाकृति फिर्ता आएको पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताउनु भयो।
विभागका अनुसार फिर्ता भएका कलाकृतिमा तामाबाट निर्मित भैरवका दुई मुखुण्डा रहेका छन्। यी सोह्रौं शताब्दीमा बनेका हुन्। दोलखाको भिमेश्वर नगरपालिका(२ स्थित गुरकोट टोलबाट २०५० फागुन २२ मा चोरी भएका थिए। बिभिन्न माध्यमबाट अमेरिकाको डल्लास म्युजियम अफ आर्ट र रुबिन म्युजियम अफ आर्टमा पुगेका थिए।
यस्तै, प्रस्तरबाट निर्मित उमामहेश्वरको मूर्ति पनि फिर्ता आएको छ। सोह्रौं शताब्दीमा निर्मित यो मूर्ति पाटनको ओमवहाल परिसरको फल्चाबाट सन् १९८० देखि १९९० को बीचमा चोरी भएको थियो। यो मूर्ति ब्रुकलिन संग्रहालय पुगेको थियो।
यसैगरी, प्रस्तरकै दुर्गाको मूर्ति भक्तपुरको हनुमानघाटस्थित स्मारक स्वरुप शिवलिङ रहेो स्थानबाट चोरी भएको थियो। यो अठारौं शताब्दीमा बनेको थियो।
अहिलेसम्म अमेरिकाबाट ७२ ऐतिहासिक कलाकृति फिर्ता भएका छन्। त्यस्तै, अमेरिकासहित बिभिन्न देशबाट १४५ वटा कलाकृति फिर्ता भएको विभागकी महानिर्देशक प्रधानाङ्गले जानकारी दिनुभयो।
पछिल्लो चार वटा कलाकृति फिर्ता ल्याउन अमेरिकाका सरकारी निकायले सहयोग गरेको विभागले जनाएको छ। यससँगै न्यूयोर्कस्थित नेवाः गुठीले आर्थिक सहयोग गरेको थियो भने गुथिका अध्यक्ष विजयमान सिं र कोषाध्यक्ष प्रेमगोपाल महर्जनले सो ऐतिहासिक कलाकृतिहरू नेपाल फिर्ताल्याउनु भएको थियो।
