काठमाडौं – इतिहास मेटाउन खोजेको भन्दै नेपाल पत्रकार महासङ्घ, प्रदेश प्रतिष्ठानले प्रकाशन गरेको ‘अग्र अनुहार’ पुस्तक विमोचन कार्यक्रममा विरोध प्रदर्शन भएको छ । पत्रकार महासङ्घका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको तथ्य पुष्टी भइसकेको अवस्थामा पनि इतिहास मेटाउन खोजेको भन्दै आदिवासी जनजाति पत्रकार महासङ्घ र नेवाः पत्रकार राष्ट्रिय दबुले विरोध प्रदर्शन गर्दै पुस्तकसमेत च्यातिदिएको छ ।
पुस्तकमा महासङ्घका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई उल्लेख छ । भट्टराई २०१२ सालमा महासङ्घका अध्यक्ष बन्नु भएको थियो । तर, त्योभन्दा ४ वर्षअगाडि २००८ सालमै सत्यनारायण बहादुर श्रेष्ठ महासङ्घका अध्यक्ष बनेको पुष्टि भइसक्दा पनि भट्टराई नै लेखिनु दुखद् भएको भन्दै विरोध भएको हो।
नेवाः पत्रकार राष्ट्रिय दबुका अनुसार श्रेष्ठको नेतृत्वमा २००८ वैशाख ९ गते नेपाल पत्रकार सङ्घ गठन भएको थियो । गलत तथ्यलाई स्थापित गर्ने गलत मनसायका साथ पुस्तक प्रकाशन भएको भन्दै विमोचन रोक्न आदिवासी जनजाति पत्रकार महासङ्घ र नेवाः पत्रकार राष्ट्रिय दबुले शनिबार नै प्रेस विज्ञप्ति जारी गरेका थिए । तर, नरोकिएपछि पुस्तक विमोचन कार्यक्रममा नै विरोध गरिएको थियो।
