काठमाण्डौ – नेपाली सेनाले आफ्नो स्थापना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच युद्धकला, शिवरात्रि परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरेको छ । नेपाली सेनाले देशभरी विविध कार्यक्रम गरी २ सय ६१ औँ स्थापना दिवस मनाइरहेको छ ।
टुँडिखेलमा भएको विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सरकारका मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको छ । महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी समेत गरेको छ ।
हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको छ । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम भएका छन ।
नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउने गर्दछ । नेपालको सुरक्षाका साथै संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा पनि नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ । शान्ति स्थापनाका लागि सेना खटाउने देशको सूचीमा नेपाल अहिले पहिलो स्थानमा छ ।
