देवदास मानन्धर स्मृति ग्रन्थको लोकार्पण

काठमाण्डौं – देवदास मानन्धरले गर्नु भएको योगदानको चर्चा गर्दै लक्ष्मीदास मानन्धर स्मृति प्रतिष्ठानले देवदास मानन्धर स्मृति ग्रन्थको लोकार्पण गरेको छ। प्रतिष्ठानका अध्यक्ष नारायणदास मानन्धरको सभापतित्वमा शनिवार काठमाण्डौंमा भएको कार्यक्रममा नेपालभाषा एकेडेमिका कुलपति मल्ल के. सुन्दर, वरिष्ठ साहित्यकार हितकरवीर सिं कंसाकार, भिक्षु धर्मगुप्त महास्थवीर लगायतले स्मृति ग्रन्थको लोकार्पण गर्नुभएको हो।

कार्यक्रममा नेपालभाषा एकेडेमिया कुलपति मल्ल के. सुन्दर, देवदास मानन्धरका धर्मपत्नी सरोज मानन्धर, स्मृति ग्रन्थका सम्पादक विष्णु चित्रकार, लुम्बिनी बौद्व विश्वविद्यालयका पूर्व कुलपति प्रा डा त्रिरत्न मानन्धर लगायतले स्वर्गिय मानन्धरको योगदानको चर्चा गर्नुभएको थियो।

कार्यक्रममा स्मृति ग्रन्थ प्रकाशनका लागि विषेश सहयोग गरेका नेपालभाषा एकेडेमिया कुलपति मल्ल के. सुन्दर,  स्मृति ग्रन्थका  सम्पादक विष्णु चित्रकार , स्मृति ग्रन्थका संयोजक मंगल कृष्ण मानन्धर, नेवाः अनलाइनका प्रकाशक एवमं स्मृति ग्रन्थका संयोजक सुजीव बज्राचार्य, न्यूजनेपाःका सम्पादक, नेपाल मण्डल टेलिभिजनका निर्देशक एवमं उज्यालो रेडियोको लहना कार्यक्रमका निर्माता पत्रकार सिल्भिया राजोपाध्याय्, वरिष्ठ कवि प्रतिसरा सायमिलाई सम्मान गरेको थियो। त्यस्तै स्मृति ग्रन्थमा समावेश भएका  लेख रचनाका  १६० भन्दा धेरै लेखकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रम वरिष्ठ कवि प्रतिसरा सायमिले संचालन गर्नु भएको थियो। 

पेशागत रुपमा केमिकल इन्जिनियर एवमं उद्योगी देवदास मानन्धरको ब्रेन ह्युमरेजका कारण ७० वर्षको उमेरमा २०७९ कार्तिक १९ गते निधन भएको थियो । उहाँले नेपाल लिपिलाई युनिकोडमा समावेश गर्ने, नेपाल लिपिको संरक्षणका लागि लिप्यन्तरण सफ्टवेयर निर्माण, दाफा भजन र सांस्कृतिक बाजाको संरक्षण, चाडपर्व, संस्कृतिका भिडियो निर्माण, नेपाल संवतको क्यालेन्डर प्रकाशन, मानन्धर समुदायको आनुवंशिक अनुसन्धानका लागि रगतको नमूना संकलन, मानन्धर समुदायको जनगणना संकलन, नेपालभाषा शिक्षा, नेवार अधिकार, बौद्ध धर्म र बौद्ध शिक्षा, कृषि उत्पादन एवमं कृषिमा आर्थिक क्रान्ति लगायतमा योगदान दिनु भएको थियो।

( यस कार्यक्रमका तस्विर एवमं भिडियो न्यूजनेपाःको अफिसियल फेसबुकमा उपलब्ध छन्।)