कर्णाली याक्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार तेस्रो जित निकालेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिगको दशौं खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनको लक्ष्य दिएको थियो। १९.२ ओभरमा अल आउट हुँदा कर्णाली याक्सले मात्र ९४ रन बनायो।
कर्णालीका लागि पवन सर्राफले २७ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै, गुल्सन झाले १३ रन तथा सोमपाल कामले १४ रन बनाए। थप दोहोरो स्कोरका रुपमा अघिल्लो खेलमा शतक प्रहार गरेका मार्क वाटको १७ रन रह्यो।
कर्णालीलाई सस्तैमा अलआउट गर्ने क्रममा दिपेन्द्र सिंह ऐरीले ४ विकेट लिँदा हर्मित सिंह र अभिनाश बोहोराले २-२ विकेट लिएका थिए। त्यस्तै, स्कट कुगलिङ्ग र हेमन्त धामीको नाममा १-१ विकेट रह्यो।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो। उसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ३९ रन बनाउनु सर्वाधिक रह्यो।
उनीबाहेक क्रिस लिनले १८ रन बनाउँदा आरिफ शेखेले २७ रन बनाए। त्यस्तै, विनोद भण्डारीले ११ रन बनाउँदा हर्मित सिंहले १९ रन बनाए। त्यस्तै, स्कट कुगलिङ्गले १० रन बनाएका थिए।
कर्णालीका लागि सोमपाल कामीले ३ विकेट लिँदा नन्दन यादवले २ तथा मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १-१ विकेट लिए।
यसअघि सुदूरपश्चिमले अघिल्ला दुवै खेलमा जित निकाल्दा कर्णालीले एक खेलमा जित र अर्को एक खेलमा हार भोगेको थियो। कर्णालीले पहिलो खेलमा चितवनसँग ४ विकेटको हार भोग्दा दोस्रो खेलमा लुम्बिनीलाई ९ विकेटले हराएको थियो।
सुदूरपश्चिमले भने पहिलो खेलमा काठमाडौँलाई २९ रनले हराउँदा दोस्रो खेलमा पोखरालाई १८ रनले पराजित गरेको थियो।
