चाँगुनारायणको कलश हनुमानढोका ल्याए संगै गर्मी सुरु हुने जनविश्वास

पौष शुक्ल पूर्णिमा अर्थात् गत शनिबार भक्तपुरको चाँगुनारायणबाट हनुमानढोकासम्म कलश यात्रा गराइएको छ । शासकमा जनतामैत्री चेतको विकास होस् भन्ने उद्देश्यका साथ चाँगुको कलशलाई हनुमान ढोकामा ल्याएर दर्शन गराउने चलन मध्यकालभन्दा अघिदेखि नै चलेको सरोकारवालाहरू बताउँछन् ।

चाँगुनारायणसँगै देवी लक्ष्मी र देवी सरस्वतीको कलशलाई हिँडेर हनुमानढोकासम्म ल्याउने चलन छ । चाँगुबाट बिहान सुरु भएको कलशयात्रा डाँछी, गोकर्ण, जोरपाटी, चाबहिल, ज्ञानेश्वर, नक्साल हुँदै रानीपोखरी छेउमा रहेको एउटा पाटीमा राख्ने चलन छ । सो पाटीबाट बडागुरुज्यू सहितको पल्टनले बढाइँका साथ असन इन्द्रचोक हुँदै हनुमानढोका लैजाने चलन रहेको छ।

चाँगुनारायणका मूल पूजारी चक्रधरानन्द राजोपाध्यायले चाँगुनारायणको कलश र दायाँबायाँ भँडेलहरुले लक्ष्मी, सरस्वतीको कलश चाँगुबाट बोकेर पैदल हिँड्दै काठमाडौंको हनुमानढोका स्थित तलेजु ल्याए ।

किंवदन्ती अनुसार परापूर्वकालमा राजाहरु जनताप्रति अनुत्तरदायी हुन थालेपछि सबैले राजा भगवान सरह हुने भएकोले आफ्नो जनतालाई निष्पक्ष न्याय दिनुपर्ने दबाव दिन थाले । राजा भगवानको स्वरुप भएको भन्दै चाँगुबाट ल्याएको कलशमा राजालाई हेर्न लगाइन्छ । त्यसमा हेर्दा आफूलाई भगवान स्वरुपको देखेपछि राजा जनताप्रति उत्तरदायी बन्छन् भन्ने विश्वासका साथ यो अहिलेसम्म चल्दै आएको छ ।

मल्लकालसम्म राजाहरूले हनुमान ढोकाकोे दशैंघर छेउमा रहेको चोकमा बसेर कलशको दर्शन गर्छन् भन्ने मान्यता थियो । तर शाहकालमा राजाको दर्शन गराउनको लागि नारायणहिटी लैजाने गरियो । अहिले राष्ट्रपति भवनमा लगेर कलशको दर्शन गराउने चलन छ ।

कलश यात्रा विधिवत् सम्पन्न भएमा देशमा अनिकाल नहुने, समयमा वर्षा हुने र देशमा शान्ति सुव्यवस्था कायम हुने धार्मिक विश्वास रहेको छ । कलश यात्रा बर्षको दुई पटक हुन्छ । पहिलो जनै पूर्णिमाको ४ दिन अघि अर्थात श्रावण शुक्ल द्वादशी तिथिमा हुन्छ भने दोश्रो पौष शुक्ल पुर्णिमाको दिनमा हुन्छ ।