काठमाडौं — काठमाडौं महानगरपालिका वडा नं. २७ र राष्ट्रिय चिकित्सा प्रतिष्ठान वीर अस्पतालको सहकार्यमा स्थानीय बासिन्दाहरूका लागि निःशुल्क कलेजो रोग सम्बन्धी प्रारम्भिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ।
उक्त कार्यक्रम अन्तर्गत स्थानीयवासीहरूले निःशुल्क रगत परीक्षण तथा भिडियो एक्सरे (अल्ट्रासाउण्ड) सेवा प्राप्त गर्न सक्नेछन्। आवश्यकता अनुसार ‘लिभर फाइब्रोस्क्यान’ समेत गरिने जानकारी दिइएको छ।
कार्यक्रममा विशेष गरी पेटको भिडियो परीक्षणमा ‘फ्याटी लिभर’ देखिएका, कलेजोसम्बन्धी समस्या भएका बिरामीहरू तथा २५ वर्षभन्दा माथिका सबै स्थानीय बासिन्दाहरूलाई लक्षित गरिएको छ।
स्वास्थ्य परीक्षणका लागि सहभागी हुन इच्छुक व्यक्तिहरूले काठमाडौं महानगरपालिका वडा नं. २७ अन्तर्गत रहेको शहरी स्वास्थ्य प्रवर्धन केन्द्र (लुः निभा निःशुल्क स्वास्थ्य केन्द्र) बाट रिफर लिनुपर्नेछ। साथै, नागरिकता प्रमाणपत्रको एक प्रति अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाइएको छ।
स्वास्थ्य परीक्षण वीर अस्पताल, महाबौद्धस्थित कलेजो विभाग (दोस्रो तल्ला) मा चैत्र २०८२ मा सञ्चालन गरिनेछ।
रगत परीक्षण अन्तर्गत CBC, LFT, FBS, GGT, लिपिड प्रोफाइल, क्रियाटिनिन, HBsAg, Anti-HCV तथा HIV परीक्षण गरिनेछ भने पेटको भिडियो एक्सरे सेवा पनि उपलब्ध हुनेछ।
वडा अध्यक्ष योगेश कुमार खड्गीले स्थानीय बासिन्दाहरूलाई यस कार्यक्रमबाट लाभ उठाउन आग्रह गरेका छन्। कार्यक्रमबारे थप जानकारीका लागि वडा कार्यालयका जनप्रतिनिधि तथा सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गर्न सकिनेछ।
