गैर आवासीय नेपालीका लागि विमानस्थलमा छुट्टै डेस्क राखिने: गृह मन्त्रालयको विशेष निर्णय

काठमाडौँ — विश्वभर छरिएर रहेका नेपाली मूलका विदेशी नागरिक तथा गैर आवासीय नेपालीहरूलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब छुट्टै डेस्क सञ्चालनमा आउने भएको छ।

अध्यागमन विभागले आइतबार विमानस्थल कार्यालयलाई पत्राचार गर्दै आगमन र प्रस्थान दुवै कक्षमा अलग्गै डेस्कको व्यवस्थापन गर्न निर्देशन दिएको छ।

विशेषगरी नेपाली भाषा, संस्कृति र माटोप्रतिको आत्मीयतालाई प्रगाढ बनाउनुका साथै नेपालमा पर्यटन र लगानी प्रवर्द्धन गर्ने उद्देश्यले यो कदम चालिएको हो।

लामो समयदेखि ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ (एएनओ) ले उठाउँदै आएको मागलाई सम्बोधन गर्दै गृह प्रशासनले यो निर्णय गरेको हो।

यस निर्णयको स्वागत गर्दै एएनओका अध्यक्ष डिल्ली अधिकारीले विज्ञप्तिमार्फत गृहमन्त्री ओमप्रकाश अर्याल र गृह प्रशासनलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।

यो व्यवस्थाले विश्वभर रहेका नेपाली मूलका नागरिकहरूले सम्मानित महसुस गर्ने र यसले नेपाली पहिचानलाई मातृभूमिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास संस्थाले व्यक्त गरेको छ।