विश्व अर्थतन्त्रको मेरुदण्ड मानिने होर्मुज जलडमरूलाई लिएर अमेरिका र इरानबीचको द्वन्द्वले नयाँ मोड लिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च २१ मा इरानलाई ४८ घण्टाभित्र जलमार्ग सुचारु गर्न अल्टिमेटम दिँदै सैन्य हस्तक्षेपको धम्की दिएपछि क्षेत्रीय सुरक्षामा गम्भीर प्रश्न उठेको छ।
फारसी खाडीलाई ओमानको खाडी र अरब सागरसँग जोड्ने यो एकमात्र जलमार्ग इरानको नियन्त्रणमा रहेकाले यसको बन्दले विश्वव्यापी तेल आपूर्तिमा ठूलो धक्का पुगेको छ।
इरानी सेना (आइआरजिसी) ले अमेरिकी आक्रमणको बदलामा जलमार्गलाई पूर्ण रूपमा ठप्प पार्ने र अमेरिकी स्वार्थ जोडिएका व्यापारिक कम्पनीहरूलाई निशाना बनाउने स्पष्ट पारेको छ।
एकातिर इजरायल र अमेरिकाको दबाब र अर्कोतिर इरानको भौगोलिक रणनीतिक लाभका कारण उत्पन्न यो गतिरोधले गर्दा हाल विश्व बजारमा ऊर्जाको मूल्यमा तीव्र वृद्धि भइरहेको छ, जसले गर्दा विश्व अर्थतन्त्र नै संकटको भुमरीमा पर्ने देखिन्छ।
