काठमाण्डाै — गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरूको शपथ ग्रहण र आगामी संसद् बैठकका लागि आवश्यक सम्पूर्ण व्यवस्थापकीय तयारी पूरा भएको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार आगामी चैत ११ गते प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम तय भएको छ।
नेपाली कांग्रेसका समानुपातिक सांसद केसीले ज्येष्ठ सदस्यको रूपमा शपथ लिएको भोलिपल्ट अर्थात् चैत १२ गते अन्य नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनुहुनेछ।
सिंहदरबारमा निर्माणाधीन संसद् भवन अझै पूर्ण रूपमा तयार नभएका कारण यस पटकको अधिवेशन र शपथ ग्रहण कार्यक्रम नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षमा आयोजना गर्ने निर्णय गरिएको छ।
निर्वाचनको अन्तिम नतिजा आएको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक बाध्यतालाई मध्यनजर गर्दै सचिवालयले सभाकक्षमा कुर्सी, माइक र क्यामेरा जडान लगायतका प्राविधिक कार्यहरूलाई अन्तिम रूप दिइसकेको छ।
