काठमाडौँ महानगरपालिकाले यस वर्षको जनबहाःद्य अर्थात् सेतो मच्छिन्द्रनाथको रथयात्रालाई भव्य रूपमा सम्पन्न गर्न विशेष तयारी सुरु गरेको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको तयारी बैठकले जात्रा व्यवस्थापनका लागि महानगरले प्रदान गर्दै आएको सहयोग रकम १० लाखबाट बढाएर २० लाख रुपियाँ पुर्याउने निर्णय गरेको छ।
उक्त बैठकमा रथयात्रा हुने महानगरका ९ वटा वडाहरूको मार्ग व्यवस्थापन, सरसफाइ, शान्ति सुरक्षा र सांस्कृतिक समन्वयका विषयमा विस्तृत छलफल भएको थियो। श्रद्धालुहरूलाई उत्सवको गरिमामय अनुभूति गराउन जिल्ला प्रशासन कार्यालयले सुरक्षा संयन्त्र परिचालन गर्नेछ भने महानगरपालिकाले सडक मर्मत र वातावरणीय व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने प्रतिबद्धता जनाएको छ।
सांस्कृतिक परम्परा अनुसार यस वर्ष चैत १२ गते केलटोलबाट खट यात्रा सुरु भई जमलमा रथारोहण गरिने तालिका तय भएको छ।
रथयात्राको पहिलो दिन असन पुर्याइने र सोही राति राष्ट्रपतिबाट दर्शन गर्ने कार्यक्रम रहेको छ।
त्यसपछिका दिनहरूमा हनुमानढोका र लगन हुँदै १६ गते पुनः जनबहालमा मूर्ति प्रतिस्थापन गरेर जात्रा समापन गरिनेछ।
हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाका केन्द्र मानिने सेतो मच्छिन्द्रनाथलाई वर्षा, सहकाल र अनिष्ट निवारण गर्ने देवताका रूपमा पूजा गरिन्छ। प्राचीन कालमा जमलको खेतमा मूर्ति भेटिएको किम्वदन्तीसँग जोडिएको यो जात्राले सामाजिक सद्भाव र समृद्धिको सन्देश प्रवाह गर्दै आएको छ।
