ललितपुर, चैत — महिला उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ‘चेलीको हटिया २.०: फाइनान्सियल फ्रिडम फेयर २०२६’ आयोजना हुने भएको छ। अग्र इन्डस्ट्रिजको आयोजनामा चैत २१ गते शनिबार, बखुन्डोलस्थित क्याफे जिरोमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।
“एम्पोवेर | एअर्न | एलेवाते” नारासहित आयोजना हुन लागेको उक्त कार्यक्रममा २० भन्दा बढी महिला नेतृत्वका लघु, साना तथा मझौला उद्योगहरूको सहभागिता रहनेछ। कार्यक्रममा वातावरणमैत्री उत्पादन, हस्तकला तथा दिगो फेसनका सामग्रीहरूको प्रदर्शनी तथा बिक्री गरिनेछ।
कार्यक्रमको अर्को मुख्य आकर्षणका रूपमा महिला उद्यमीहरूको स्टोरी टेलिङ सत्र रहनेछ, जहाँ उनीहरूले आफ्नो व्यवसायिक यात्रा, चुनौती र अवसरबारे प्रस्तुति दिनेछन्। यसले उनीहरूलाई सम्भावित लगानीकर्ता, ग्राहक तथा मेन्टरहरूसँग जोड्ने विश्वास लिइएको छ।
यसका अतिरिक्त कार्यक्रममा सांगीतिक प्रस्तुति, कविता वाचन तथा ओपन माइक जस्ता सांस्कृतिक गतिविधिहरू पनि समावेश गरिनेछन्। सहभागी उद्यमीहरूबीच नेटवर्किङ र अनुभव आदानप्रदानको अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रमको सहकार्य क्याफे जिरो र दीगो नेपालले गरेका छन्। करिब ५०० भन्दा बढी सहभागीको उपस्थिति रहने अपेक्षा गरिएको छ।
कार्यक्रमले विशेष गरी औपचारिक वित्तीय सेवामा पहुँच नभएका महिला उद्यमीहरूलाई बजारसँग जोड्ने, उनीहरूको आर्थिक स्वतन्त्रता अभिवृद्धि गर्ने तथा व्यावसायिक दक्षता बढाउने लक्ष्य लिएको आयोजकले उल्लेख गरेको छ।
