सुनको मूल्यमा अस्वभाविक गिरावट: कीर्तिमानी उचाइबाट खस्कियो बजार, सर्वसाधारणमा अन्योल

नेपाली बजारमा सुनको मूल्यमा देखिएको अस्वभाविक गिरावटले लगानीकर्ता र उपभोक्ता दुवैलाई तरंगित बनाएको छ।

केही दिन अघिसम्म आकाशिएको सुनको भाउ निरन्तर ओरालो लाग्ने क्रम जारी रहँदा सर्वसाधारण आश्चर्यमा परेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला रु दुई हजार २०० को भारी गिरावट आएको छ।

दुई दिनको अवधिमा मात्र सुनको मूल्य प्रतितोला रु आठ हजार ५०० ले घटेर आज रु दुई लाख ९६ हजार ५०० मा झरेको छ।

बुधबार प्रतितोला रु तीन लाख पाँच हजारमा कारोबार भएको सुनको भाउ निरन्तर घट्दो छ।

सुनसँगै चाँदीको मूल्यमा पनि तीव्र गिरावट देखिएको छ। आज चाँदी प्रतितोला रु ७५ ले घटेर रु चार हजार ९४५ मा सीमित भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस चार हजार ७०५ डलरमा सीमित हुनुले नै नेपाली बजारमा यसको प्रत्यक्ष प्रभाव परेको देखिन्छ।

केही दिन अघि सम्मको उच्च विन्दुबाट सुनको मूल्य यसरी खस्किनुले आर्थिक बजारमा नयाँ बहस सिर्जना गरेको छ।