फ्रान्स-मोरोक्कोको खेलमा सबै रेफ्री अर्जेन्टिनी, उठ्यो निष्पक्षतामाथि प्रश्न

काठमाडौं । दुई दिनपछि हुने फ्रान्स र मोरोक्को बीचको क्वार्टरफाइनलको खेलमा सबै रेफ्रीहरू अर्जेन्टिनी हुने भएका छन् । जारी विश्वकपमा एकै देशका म्याच अफिसियल राखिएको यो पहिलो खेल हुनेछ ।

मुख्य रेफ्री फ्याकुन्डो टेलो, सहायक रेफ्रीद्वय जुआन पाब्लो बालेटी, ग्राबियल चाडे, चौथो रेफ्री दारियो हेरेरा, भीएआर टोली क्रिस्टियन नाभारो लवायत सबै म्याच अफिसियल अर्जेन्टिनी रहनेछन् ।

हिजो भएको अर्जेन्टिना र इजिप्टको खेलमा रेफ्रीका निर्णयहरूले सबैको ध्यान खिचेको थियो । उक्त खेलमा रेफ्रीले गरेको निर्णयलाई लिएर अनेक खाले टिप्पणी भइरहेको छ । यस्तो बेला मोरोक्को र फ्रान्सबीचको क्वार्टरफाइनल खेल खेलाउने रेफ्रीहरू अर्जेन्टिनी मात्र हुने भएपछि धेरै समर्थकले अचम्म मानिरहेका छन् ।

मुख्य र सहायक मात्र नभएर चौथो र रिजर्भ रेफ्री पनि अर्जेन्टिनी हुने भएपछि समर्थकहरूले खेलको निष्पक्षतामाथि प्रश्न उठाइरहेका छन् । यस विषयमा फिफाले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।