“रेफ्रीहरु अर्जेन्टिनालाई प्रतियोगितामा राख्न चाहन्थे”

काठमाडौं । विश्वकपको नकआउट चरणबाट बाहिरिएपछि इजिप्ट टोली रेफ्रीका निर्णयप्रति आक्रोशित बनेको छ।

मंगलबार साविक विजेता अर्जेन्टिनासँग ३-२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि इजिप्टका प्रशिक्षक होसम हसन र स्टार फरवार्ड मोस्ताफा जिकोले खेलमा न्याय नभएको आरोप लगाएका छन्।

अटलान्टामा भएको रोमाञ्चक खेलमा इजिप्टले २-० को अग्रता बनाएको थियो। तर अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै ३-२ को जित निकाल्यो। यो जितसँगै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ, जहाँ उसले कोलम्बिया वा स्विट्जरल्यान्डमध्ये एक टोलीसँग अर्को शनिबार प्रतिस्पर्धा गर्नेछ।

तर इजिप्ट टोली खेलको नतिजाभन्दा पनि रेफ्रीका निर्णयप्रति असन्तुष्ट देखियो। प्रशिक्षक हसनले आफ्नो टोली १-० ले अगाडि रहँदा दोस्रो गोल गलत रूपमा रद्द गरिएको दाबी गरे। उनका अनुसार भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) जाँचपछि गोल रद्द गरिनु अन्यायपूर्ण थियो। त्यस्तै, इन्जो फर्नान्डेजले अर्जेन्टिनाको तेस्रो गोल गर्नु केही क्षणअघि इजिप्टले पेनाल्टी पाउनुपर्ने अवस्था बनेको तर त्यसलाई भीएआरले समेत राम्रोसँग नहेरेको उनको आरोप छ।

खेलपछि पत्रकार सम्मेलनमा हसनले रेफ्री फ्रान्स्वा लेटेक्सियर र अर्जेन्टिनाका खेलाडीहरूमाथि प्रश्न उठाए। उनले भने, “हामीले सम्मान र फेयर प्ले देखेनौं। एउटा पेनाल्टी रद्द गरियो, अर्को पेनाल्टीको घटना भीएआरले जाँचसमेत गरेन। हाम्रो दोस्रो गोल अचम्मलाग्दो रूपमा रद्द गरियो।”

हसनले रेफ्रीमाथि अर्जेन्टिनाको दबाब परेको संकेत गर्दै भने, “अर्जेन्टिनाको पक्षबाट रेफ्रीमाथि दबाब परेको देखियो, जसले यो नतिजा ल्यायो।”

उनले खेलप्रति निराशा व्यक्त गर्दै थपे, “जीवन अन्यायपूर्ण छ, संसार अन्यायपूर्ण छ। तर खेलमा पनि किन न्याय छैनरु म यो नतिजा र खेल जसरी अघि बढ्यो, त्यसबाट पटक्कै सन्तुष्ट छैन।”

हसनले खेलको समयतालिकाको पनि आलोचना गरे। उनले दिउँसो १२ बजे खेल राख्नु गलत भएको बताए। “जसले यो तालिका बनाउँछ, उसले फुटबल खेलेको छैन। फुटबल खेल कहिल्यै दिउँसो १२ बजे राखिँदैन,” उनले भने।

मध्यपूर्व र उत्तर अफ्रिकी प्रसारक मिडियासँग कुरा गर्दै हसनले थप कडा अभिव्यक्ति दिए। उनले भने, “सायद उनीहरू विश्व विजेतालाई प्रतियोगितामा राख्न चाहन्थे। सायद उनीहरू मेस्सीलाई प्रतियोगितामा अगाडि बढाउन चाहन्थे। फुटबलमा कहिलेकाहीँ प्राविधिक पक्षभन्दा बाहिरका कारकहरू पनि हुन्छन्। विश्व विजेताले हरेक तहबाट समर्थन पाए।”

उनले फेरि भने, “मैले रेफ्रीलाई भनेँ, जे भइरहेको छ त्यो निष्पक्ष छैन। अर्जेन्टिनाको जित योग्य थिएन। म आफ्नो देश र घर फर्किएपछि विश्वकप फेरि कहिल्यै हेर्दिनँ, किनकि यो प्रतियोगितामा न्याय छैन।”

इजिप्टका गोलकर्ता मोस्ताफा जिकोले पनि रेफ्रीको निर्णयप्रति कडा असन्तुष्टि जनाए। क्यानडेली प्रसारकसँग उनले भने, “रेफ्रीबाट यो निष्पक्ष थिएन। यो स्पष्ट रूपमा अन्यायपूर्ण थियो। उनले आफ्ना निर्णयबाट हाम्रो सबै मेहनत खेर फाले। हामी २–० ले अगाडि थियौं, तर हामी केही गर्न सकेनौं। सबै भगवानकै हातमा छ।”

जिकोले इजिप्टका समर्थकहरूसँग माफी पनि मागे। उनले भने, “हामी इजिप्टका जनतासँग माफी चाहन्छौं। म व्यक्तिगत रूपमा पनि माफी चाहन्छु। हामी तपाईंहरूलाई खुसी बनाउन चाहन्थ्यौं। तर त्यो हाम्रो भाग्यमा थिएन। यो रेफ्रीकै कारण भयो। कप अर्जेन्टिनातर्फ निर्देशित छ।”