मोरक्कोले पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ३-२ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। दुबै टीमले पेनाल्टीमा निरन्तर गल्ती गरेपनि मोरक्कोले अन्तमा बाजि मार्यो।
मोन्टेरेमा भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक भिडन्तमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउनु अघि अन्तिम सयमा पुनरागमन सम्भव बनाएको थियो। निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीमार्फत भएको हो।
अब मोरक्कोले क्वार्टरफाइनल प्रवेशका लागि शनिबार ह्युस्टनमा क्यानडासँग प्रतिस्पर्धा गर्ने छ।
खेलको अधिकांश समय मोरक्कोले दबाब बनाए पनि नेदरल्यान्ड्सका गोलरक्षक बार्ट भेर्ब्रुगेन उत्कृष्ट लयका कारण अफ्रिकन टोली गोल गर्ने अवसरबाट बञ्चित भइरह्यो। उनले निल एल आयनाउईको नजिकबाट आएको हेडर, असरफ हाकिमीको शक्तिशाली प्रहारसहित थुप्रै अवसर विफल पार्दै टोलीलाई खेलमा टिकाइराखे।
दोस्रो हाफको ७२औँ मिनेटमा नेदरल्यान्ड्सले अप्रत्याशित अग्रता बनायो। गोलरक्षक भेर्ब्रुगेनको लामो पासलाई वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका वाउट वेघोर्स्टले हेडमार्फत अगाडि बढाएको बललाई क्रिसेन्सियो समरभिलले कोडी गाक्पोका लागि मिलाइदिए। गाक्पोले कुनै गल्ती नगरी गोल गर्दै नेदरल्यान्ड्सलाई १-० को अग्रता दिलाए।
व्यक्तिगत रूपमा अत्यन्त भावुक अवस्थामा रहेका गाक्पोले शनिबार गर्भअवस्थामानै सन्तान गुमाएको दुःखद खबर सार्वजनिक गरेका थिए। त्यसका बाबजुद टोलीसँगै रहने निर्णय गरेका उनले गरेको गोलपछि टोलीका खेलाडीले उनलाई अँगालो हाल्दै साथ दिएका थिए। गोक्पा आफ्नी श्रीमति र गुमेको सन्तान सम्झिएर निकै भावुक बनेका थिए।
तर मोरक्कोले हार मानेन। इन्जुरी समयको सुरुआतमै चेम्सदिन ताल्दीको उत्कृष्ट क्रसमा इस्सा डिओपले शक्तिशाली हेडरमार्फत बराबरी गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयमा दुवै टोलीले केही राम्रो अवसर सिर्जना गरे। मोरक्कोका सौफियान रहिमीको उत्कृष्ट प्रयासलाई भेर्ब्रुगेनले प्रतियोगिताकै उत्कृष्टमध्येको बचाउ गर्दै विफल पारे। अर्कोतर्फ, अन्तिम क्षणमा नुसैर मजराउईले समरभिलको प्रहार रोक्दै खेल पेनाल्टीसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेले।
पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सका ट्युन कुपमाइनर्स र वाउट वेघोर्स्टले गोल गरे। तर जस्टिन क्लुइभर्टको प्रहार पोस्टमा लाग्यो, क्विन्टेन टिम्बरको प्रहार बाहिरियो र समरभिलको प्रहार गोलरक्षक यासिन बोनोले रोके।
मोरक्कोका लागि सौफियान रहिमी, चेम्सदिन ताल्दी र इस्माइल साइबारीले गोल गरे। निल एल आयनाउई र असरफ हाकिमीले पेनाल्टी चुकाए पनि अन्तिम प्रहारमा साइबारीले गोल गर्दै मोरक्कोलाई ३-२ को ऐतिहासिक जित दिलाए।
खेलभरि आक्रामक प्रदर्शन गरेको मोरक्कोले अन्तिम क्षणसम्म संघर्ष जारी राख्दै पुनरागमनको उत्कृष्ट उदाहरण प्रस्तुत गर्यो। सन् २०२२ को विश्वकपमा सेमिफाइनल पुगेको टोलीले यस पटक पनि उपाधि दाबेदारका रूपमा आफ्नो बलियो उपस्थितिलाई फेरि प्रमाणित गरेको छ।
