काठमाडौं – धेरै ठाउँको मौसम अहिले सफा भएपनि बेलुकी पख मेघगर्जन र चट्याङसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
दिउँसोदेखि नै मौसम बद्ली भई बेलुकी पख हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार आज बागमती, कोशी, गण्डकी र सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।
केही दिन यता दिनहुँ बेलुकीपख पानी पर्ने गरेको छ । पश्चिमी वायुसँगै स्थानिय वायु पनि सक्रिय भएकाले पानी परिरहेको मौसमविद् शाक्यले बताउनुभयो । उहाँका अनुसार प्रि मनसुनमा बिहान मौसम खुले पनि दिउँसो पछि बद्ली भई पानी पर्ने हुन्छ ।
अहिले पश्चिमी वायु सक्रिय भइरहेकाले लगातारजसो मौसम बद्ली भई पानी परिरहेको हो । उच्च पहाडी र हिमाली जिल्लाका एक दुई ठाउँमा हिमपातसमेत भएको छ । यसले गर्दा चिसो बढाएको छ । पश्चिमी वायु सक्रिय हुँदा चिसो हावा बहने भएकाले बिहान र बेलुका जाडो नै छ ।
आज काठमाण्डौ उपत्यकामा पनि बेलुकीपख पानी पर्ने अनुमान छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको छ । त्यहाँ ३० मिलिमिटर भन्दा धेरै वर्षा भएको मौसमविद्ले बताएका छन् ।
