पैसाको ओछ्यानमा सुत्ने व्यक्ति पत्ता लागे, को हुन् उनी ?

काठमाडौं – नेपाल प्रहरीले ओछ्यानमा पैसाको नोटमाथि सुत्ने व्यक्ति पत्ता लगाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले ओछ्यानमा नोटमाथि सुतेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति पत्ता लगाएर सचेत गरेर छोडेको बताएको छ ।

सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने व्यक्ति महोत्तरी जिल्ला बर्दिबास–१ स्थायी घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्दै आएका Fi_Venom99 ID प्रयोगकर्ता सुलभ आचार्य रहेको प्रहरीले जनाएको छ । विदेशमा कलेजको शुल्क तिर्नका लागि ल्याएको रकम खाटमा विछ्याएर भिडियो बनाएका थिए । उनले ल्याएको रकम एभरेष्ट बैंकबाट निकालेकाे प्रहरीले बताएको छ ।

अध्ययनको लागी विदेश जाने क्रममा कलेज फि बुझाउन बैकबाट पैसा निकाली रमाईलोको लागी खाटमा पैसा बिछ्याई भिडियो बनाएको भनि कागज गरेकोमा सो सम्वन्धमा अनुसन्धान गर्दा उक्त रकम एभरेष्ट बैंकबाट निकालेको देखिएकोले अव उप्रान्त यस्ता प्रकारका गतिविधी नगर्ने सर्तमा उनलाई निगरानीमा रहने गरी सचेत गराई छाडिएको भनेर प्रहरीले जनाएको छ।

प्रहरीको अनुसार नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर उनलाई छाडिएको हो । यदि उनले प्रयोग गरेको पैसा अवैद्य भएको भए कारबाहीको भागिदार हुनु पर्ने थियो । तर, उनले प्रयोग गरेको रकम बैद्य रहेको प्रहरीको भनाइ छ ।