जिब्रो छेड्ने जात्राको तयारी सुरु : सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्षको वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’को तयारी सुरु भएको छ ।

विश्व प्रशिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने हुनुभएको छ ।

युवाहरूले नै संस्कृति बचाउनु पर्छ भन्ने सन्देश दिन र हरेक वर्ष जिब्रो छेडाउन युवाहरू तयार हुनुपर्छ भन्ने सन्देश दिन जिब्रो छेडाउन लागेको  उहाँले बताउनुभयो । नवौँ पटक बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको कान्छो छोरा सुजनले यस वर्ष जिब्रो छेडाउने भएपछि चार दशक यो परिवारले जिब्रो छेडाउँदा पुस्तान्तरण भएको छ ।

कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उहाँका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएकामा यस वर्ष बुद्धकृष्णका कान्छो छोराले पहिलो जिब्रो छेड्दै हुनुहुन्छ । श्रेष्ठले नाय पमाको घरमा पुगेर चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नु भएको छ ।

साथै उहाँले हिजोदेखि व्रत बस्न सुरु गर्नु भएको छ । जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघि देखि केही नखाइ व्रत बस्नुपर्छ ।