काठमाडौं – चन्द्र ढकाल आधिकारिक रुपमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्वाचित हुनु भएको छ । वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वत: अध्यक्ष बन्ने प्रावधान अनुसार महासंघको अध्यक्ष ढकाल हुनु भएको हो ।
महासंघको ५७औँ वार्षिक साधारणसभा र निर्वाचन सकिएलगत्तै अध्यक्ष शेखर गोल्छाले ढकाललाई पद हस्तान्तरण गर्नु भएको छ ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन हुनुभएको छ । बुधवार दोस्रो चरणको चुनाव हुनुभन्दा अघि गरिएकाे सहमतिकाे प्रयास सफल गएपछि श्रेष्ठ महासङ्घकाे वरिष्ठ उपाध्यक्षमा चयन हुनुभएकाे घाेषणा गरिएकाे हाे ।उपाध्यक्षका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले अञ्जनलाई समर्थन गर्नुभएपछि उहाँ निर्विराेध चयन हुनुभयाे ।

तीन उपाध्यक्ष पदका लागि ८ जना बीच प्रतिस्पर्धा भएकोमा जिल्लानगरमा सुरकृष्ण वैद्य, एसोसिएटमा ज्योत्सना श्रेष्ठ र वस्तुगतमा हेमराज ढकाल विजयी हुनु भएको छ।
उद्योग वाणिज्य संघको तर्फबाट सदस्य बन्न पाउनुपर्ने १८ जनामध्ये ३२ जनाले उम्मेदवारी दिएकामा सबैभन्दा बढी मत पाल्पाका मोहनप्रसाद श्रेष्ठले पाउनु भएको छ भने निर्वाचितमध्ये कम मत सुर्खेतका निरक केसीले पाउनु भयो।

वस्तुगतमा १४ जनाका लागि निर्वाचन गरेकोमा २८ जनाले उम्मेदवारी दिएका थिए। सबैभन्दा बढी भोट नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघका नरेश श्रेष्ठले लिनु भयो भने निर्वाचितमध्ये सबैभन्दा कम नेपाल अलैंची व्यवसायी संघका राजकुमार कार्कीको रह्यो।

एसोसिएटतर्फ १९ पदका लागि २९ जनाले उम्मेदवारी दिएकामा सबैभन्दा बढी सफिसियन्ट कन्सलटेन्सीका डा रामशरण थपलियाले १४ सय ६३ मत प्राप्त गर्नु भयो। प्रदेशबाट प्रतिनिधित्व गर्नेमा कोशीबाट नरेन्द्र खड्का, मधेशबाट अरुणकुमार प्रधान, बागमतीबाट सविन श्रेष्ठ, लुम्बिनीबाट जम्शेर मिया, कर्णालीबाट लालिमान बुढा र सुदूरपश्चिमबाट जंगबहादुर मल्ल निर्वाचित हुनु भयो भने गण्डकीको टुंग्याउन बाँकी छ। द्वीराष्ट्रियबाट सुनिल केसी निर्वाचित हुनु भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षका लागि हुनेछ।
