ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज विहानै महिलाहरुले मात्र रथ तानेर लगनखेलको इतिटोलमा पुर्याएका छन्।
रथयात्राको क्रममा हरेक वर्ष नरीवल खसाल्ने जात्राको भोलीपल्टको बिहान महिलाहरुले मात्र रथ तान्नु पर्ने परम्परा याक मिसाया भुज्या अनुसार आज सोमबार पौने ७ बजेतिर महिलाहरुले तानेर इतिटोल पुर्याएका हुन् । रथ तान्नको लागि बाक्लो संख्यामा महिलाहरुको उपस्थिति थियो।
यसवर्षको रथयात्रा गएको सोमबार बैशाख ११ गते शुरु भएको हो। लिच्छवीकालमा उपत्यकामा पानी नपरेर अनिकाल भएकोले अहिलेको भारतको आसाममा पर्ने कामरुकामाक्षबाट रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएको र त्यसपछि सहकाल शुरु भएको किंवदन्ती छ।
फोटोः मोनालिसा महर्जन
