बुस्केट्सले बार्सिलोना छाड्ने

क्याटलान क्लब बार्सिलोनाका कप्तान सर्जियो बुस्केट्सले सिजनको अन्त्यसँगै क्लब छाड्ने निर्णय गरेका छन् । बार्सिलोनामा बुस्केट्सको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ ।

सम्झौता सकिएसँगै उनले क्लब पनि छाड्ने क्लबका पदाधिकारीलाई जानकारी गराएका हुन् । ३४ वर्षीय बुस्केट्सले केही दिन अघि नै क्लबका पदाधिकारीलाई क्लब छाड्ने विषयमा जानकारी गराइसकेका छन् ।

मंगलबार बार्सिलोना प्रशिक्षणमा उनले आफ्नो निर्णय क्लबका अधिकारीहरूलाई आन्तरिक रूपमा बताएका छन् । तर, उनको आधिकारिक निर्णय आउन बाँकी छ ।

उनले यो सिजनको स्पेनिस ला लिगाको उपाधि जितेपछि बार्सिलोना छाड्ने घोषणा गर्न सक्छन् । यो सिजन ला लिगाको उपाधिनजिक रहेको बार्सिलोनाले आइतबार स्पान्योलविरुद्ध खेल्दैछ । यसमा सफलता हात पारे बार्सिलोना चार सिजनपछि ला लिगा च्याम्पियन बन्नेछ ।

सिजनको अन्तिम घरेलु खेल र ट्रफीसहित बुस्केट्सले क्लब छाड्ने घोषणा गर्न सक्छन् । बुस्केट्सले लामो समयदेखि आफ्नो भविष्यबारे सोचिरहेको र यो निर्णयलाई हल्का रूपमा लिएका छैनन् ।

बुस्केट्स १५ वर्षयता बार्सिलोनामा छन् । उनी क्लबको सफलताको हिस्सामध्ये एक हुन् । उनीसँगै क्लबका रहेका धेरैले क्लब छाडिसकेका छन् । बुस्केट्सले पनि आफ्नो समय आएको महसुस गरिरहेका छन् ।

बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले आफ्नो पूर्व मिडफिल्डका सहयात्री बुस्केट्सलाई क्लबमै बस्न आग्रह गरिरहेका छन् ।