काठमाडौं – संघीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताउनु भयो ।
बुधबार बेलुकी निधन भएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उहाँले मुकेशलाई शहीद घोषणा गर्नेमा शंका नगर्न आग्रह गर्नु भयो। ‘मुकेशलाई शहीद घोषणा गर्नेमा शंका नगर्नुस् । उहाँको निधनले राष्ट्र आज शोकाकुल छ’, मन्त्री मोदीले भन्नु भयो । लोकतन्त्र प्राप्तिमा मुकेशले पुर्याएको योगदानप्रति काभ्रेली नागरिकले गौरव मान्नुपर्ने बताउँदै उहाँले शोकलाई शक्तिमा बदल्न कायस्थ परिवारजनलाई आग्रह गर्नु भयो ।
श्रद्धाञ्जली अर्पणका लागि मुकेशको शवलाई बनेपा नगरपालिका कार्यालय प्राङ्गणमा राखिएको छ । श्रद्धाञ्जली सभामा काभ्रेपलाञ्चोकका संघीय सांसदद्वय सूर्यमान दोङ र गोकुलप्रसाद बाँस्कोटा, प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे र लक्ष्मण लम्साल, गृह मन्त्रालयका सचिव दिनेश भट्टराई जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता एवं स्थानीयवासीको उपस्थिति थियो । दिउँसो मुकेशको शवलाई नगर परिक्रमा गराइ साँझ बनेपास्थित उग्रतीर्थमा अन्त्येष्टि गरिने जनाइएको छ ।
अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ७ः३० बजे निधन भएका मुकेश जनआन्दोलनमा घाइते हुँदा १४ वर्षको हुनुहुन्थ्यो । जनआन्दोलन भइरहँदा बनेपाको तीन दोबाटोमा विसं २०६२ चैत २७ गते मुकेश बाँया कञ्चटमा सुरक्षाकर्मीको गोली लागेर सख्त घाइते हुनुभएको थियो । गोलीको घाउ निको भएपनि मुकेशको टाउकोमा गहिरो खाल्डो थियो । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएको दिनदेखि ओछ्यानमा परेका मुकेशलाई ‘ज्यूँदो शहीद’ भन्ने गरिन्थ्यो ।
दोस्रो जनआन्दोलनका क्रममा काभ्रेपलाञ्चोकको नालाका भिमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलंकीमा, भिमखोरीका शिवहरि कुँवर बनेपामा र नागे्र गगर्चेका सुनिलकुमार लामा काठमाडौँस्थित जोरपाटीमा मारिएका थिए भने ४० जना घाइते भएका थिए ।
