काठमाण्डाै – जय शाह दोस्रो कार्यकालका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आईसीसी) को अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।
शाहको नयाँ कार्यकाल दुई वर्षको हुनेछ । यस अवधिमा आईसीसीले सन् २०२७ मा दक्षिण अफ्रिकामा एकदिवसीय विश्वकप आयोजना गर्नेछ । साथै सन् २०२८ को लस एन्जलस ओलम्पिकमा हुने क्रिकेट प्रतियाेगिताका लागि आईसीसीले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
३८ वर्षीय जय शाह यस पदका लागि एकमात्र उम्मेदवार थिए । इन्डोनेशियाको बालीमा आयोजित बैठकका क्रममा आईसीसीका निर्देशकहरूले उनको नाम प्रस्ताव गरेका थिए ।
शाह सन् २०२४ को अगस्ट महिनामा पहिलो पटक आईसीसी अध्यक्षमा निर्वाचित भएका थिए । त्यस समयमा उनी यो पद सम्हाल्ने सबैभन्दा कान्छो व्यक्ति बनेका थिए ।
यसअघि शाहले आईसीसीको प्रमुख ’वित्त तथा व्यावसायिक मामिला समिति’ को नेतृत्व गरेका थिए ।
यसैबीच बालीमा आयोजित आईसीसीको बैठकले सन् २०३१ सम्म ‘विश्व टेस्ट च्याम्पियनशिप’ ९ टोलीको प्रतियोगिताका रूपमा रहने निर्णय गरेको छ ।
यस्तै ओलम्पिकका लागि क्रिकेटको टी–२० छनोट प्रतियोगिता बङ्गलादेश र अमेरिकाले आयोजना गर्ने भएका छन् ।
यस्तै सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा पनि परिवर्तन गरिएको छ । अब ‘सुपर सिक्स’ चरण हुने छैन ।
