जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास

काठमाडौं । काठमाडौं महानगरपालिकाले जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास गरेको छ। मंसिर ५ गते महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्माणस्थलको ब्रह्मस्थानमा जगपूजा तथा शिलान्यास गर्नुभएको हो।

शिलान्यास कार्यक्रममा वडा नं. २४ का अध्यक्ष एवं हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम उपसमितिका संयोजक विनोदकुमार राजभण्डारी, वडा नं. २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जन, वडा नं. १९ का अध्यक्ष एवं पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ र वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले पनि निर्माणस्थलका चारै दिशामा जगपूजा तथा शिलान्यास गर्नुभएको थियो।

भवन निर्माणका लागि ६ करोड ७ लाख ९५ हजार ५७ रुपैयाँ लागत अनुमान गरिएको छ। शिलान्यासपछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले लामो प्रयास र मेहनतपछि ऐतिहासिक कामको सुरुवात भएको बताउनुभयो। भवन निर्माण बहुपक्षीय सहभागिताबाट सम्पन्न हुने उल्लेख गर्दै उहाँले स्थानीयवासीले यसलाई आफ्नै घर निर्माण गरेसरह अपनत्व लिएर निगरानी गर्ने अपेक्षा व्यक्त गर्नुभयो।

त्यसैगरी वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनले आफ्नो नौ वर्षे कार्यकालमा भएका महत्वपूर्ण काममध्ये श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणको सुरुवात पनि एक महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।

कार्यक्रममा पूर्व वडाध्यक्ष पवित्र बज्राचार्य, पूर्व गणेश गणेश शाक्य तथा सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले सम्पदाको संरक्षण र जीवन्तताका लागि महानगरपालिकाले थालेको पहलको प्रशंसा गर्नुभएको थियो।

निर्माण हुने भवन साढे तीन तलाको हुनेछ। आर्किटेक्ट अमित बज्राचार्यका अनुसार भवनको प्रत्येक तलाको क्षेत्रफल १ हजार ३३८ दशमलव ७५ वर्गफिट र कुल क्षेत्रफल ४ हजार १६ दशमलव २५ वर्गफिट हुनेछ।

परम्परागत नेवारी वास्तुकलामा आधारित भवन निर्माणमा इँटा, काठ, चुना र सुर्कीजस्ता सामग्री प्रयोग गरिनेछ। भवनमा कलात्मक झिँगटीको छानोसमेत रहनेछ।

भवनको भुइँतलामा सत्तल र भण्डार कक्ष निर्माण गरिनेछ भने पहिलो तलामा जीवित देवताहरूको दर्शन कक्ष र निवास कक्ष रहनेछ। दोस्रो तलामा भान्छा, शयन कक्षलगायतका संरचना निर्माण गरिने आर्किटेक्ट बज्राचार्यले जानकारी दिनुभयो।

परम्परागत नेवारी वास्तुकला र सम्पदाको मौलिकता कायम राख्दै जीवित देवता श्रीगणेश र श्रीभैरवका लागि व्यवस्थित निवासस्थान निर्माण गर्ने महानगरपालिकाको यस पहललाई काठमाडौंको सांस्कृतिक तथा धार्मिक सम्पदा संरक्षणको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।