काठमाडौं – सरकारले जनआन्दोलनमा घाइते भएर गएको वैशाख २७ गते बुधवार निधन भएका बनेपाका मुकेश कायस्थलाई शहीद घोषणा गरेको छ ।
हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।ख२०६२ साल चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर बनेपा नगरपालिका–८ का १४ वर्षीय कायस्थ घाइते हुनुभएको थियो ।
यस्तै बैठकले थाइल्यान्डमा हुने सामाजिक आयोगको ७९ औँ बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत नेतृत्वको प्रतिनिधि मण्डल स्वीकृत गरेको छ । याे बैठक जेठ १ गतेदेखि जेठ ५ सम्म चल्ने मन्त्री शर्माले जानकारी दिनुभयो।
बैठकले भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयको प्रस्तावमा कलैया सिम्रौनगढ क्षेत्रको मालपोत र नापीसम्बन्धी साविक र अहिलेकाे कार्यक्षेत्रमा संशोधन गर्ने निर्णय गरेको छ ।
यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा बुटवल गोरुसिङ्गे सडक विस्तार क्षेत्रका घर, टहरा हटाउने र क्षतिपूर्ति दिने निर्णय भएको छ । यस प्रयोजनका लागि जग्गा प्राप्ति ऐन २०३४ को दफा ५ बमोजिम सम्बन्धित योजना प्रमुखलाई कारबाही अघि बढाउन स्वीकृत प्रदान गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयाे ।
