बुढीगण्डकी बाढी प्रभावित ३२१ जनाको उद्धार, ६ हजार किलोभन्दा बढी राहत सामग्री ढुवानी

काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितहरूको खोज तथा उद्धारका लागि नेपाली सेनाले हवाई तथा स्थलमार्गबाट उद्धार कार्य जारी राखेको छ।

नेपाली सेनाका अनुसार आज २०८३ आश्विन २६ गते सेनाका हेलिकोप्टरमार्फत फिलिम, चुम्लिङ्ग, आरुघाट, दोभान र हुलचुकलगायतका स्थानबाट ३०८ जनाको उद्धार गरिएको छ। त्यस्तै, स्थलमार्गबाट १३ जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ। यससँगै आज एकै दिन उद्धार गरिएकाको कुल संख्या ३२१ पुगेको छ।

बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने कार्यसमेत भइरहेको सेनाले जनाएको छ। काठमाडौंबाट हेलिकोप्टरमार्फत गोरखाको फिलिममा करिब ६ हजार १७० केजी खाद्यान्न तथा राहत सामग्री ढुवानी गरिएको छ।

गत आश्विन २५ गते बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितहरूको खोज तथा उद्धारका लागि नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट फौज परिचालन गरेको थियो। प्रभावितहरूको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत सामग्री ढुवानी कार्य जारी रहेको सेनाले जनाएको छ।