काठमाण्डाै – पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जर्ज जेससले क्रिस्टियानो रोनाल्डोले चाहेमा टोलीमा फर्किन सक्ने बताएका छन् ।
नेशन्स लिगअन्तर्गन नर्वेविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश नगरेको र डेनमार्कसँगको खेलमा शुरुआती टोलीमा नपर्ने थाहा पाएपछि रोनाल्डोले पोर्चुगलको प्रशिक्षण शिविर छोडेर बाहिरिएका थिए । त्यसपछि उनले सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोली छोड्नुको कारणबारे ‘उचित समयमा’ स्पष्ट पार्ने बताएका छन् ।
राष्ट्रिय टोलीसँगको आफ्नो समय कसरी टुङ्ग्याउने भन्ने निर्णय रोनाल्डोले नै गर्नुपर्ने प्रशिक्षक जेससले बताए । ‘टोलीमा पहिलो पटक बोलाउँदा मैले रोनाल्डोलाई भनेको थिएँ – मलाई तिम्रो खाँचो छ; तिमी खेल वा नखेल, मलाई तिम्रो साथ चाहिन्छ । र अहिले पनि म त्यही कुरा दोहोर्याउँदै छु ।’
साविक विजेता पोर्चुगलले रोनाल्डोविना डेनमार्कमाथि ४–२ को जीत हासिल गर्याे र त्यसपछि आइतवार नर्वेलाई पराजित गर्दै शतप्रतिशत नतिजासहित नेशन्स लिगको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
पाँच पटक ‘बालोन डी’ओर’ जितेका रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक गोलकर्ता र सर्वाधिक खेल खेल्ने खेलाडी हुन्; उनले २३४ अन्तर्राष्ट्रिय खेलमा १४६ गोल गरेका छन् ।
पोर्चुगिज फुटबल महासङ्घका अध्यक्ष पेड्रो प्रोएन्काले पनि रोनाल्डो टोलीको योजनाको हिस्सा नै रहेको बताएका छन् । उनले यस घटनालाई आन्तरिक रूपमा समाधान गरिनुपर्ने एक ‘गलत बुझाइ’ का रूपमा व्याख्या गरे ।
