गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणबाट ७ प्यालेस्टाइनीको मृत्यु

गाजापट्टीका विभिन्न क्षेत्रमा शनिबार इजरायली सेनाले गरेको सैन्य कारबाहीमा ७ जना प्यालेस्टाइनीको मृत्यु भएको छ।

ड्रोन आक्रमण र हवाई हमलाका कारण सर्वसाधारणको भीडभाड हुने स्थानहरूमा ठूलो क्षति पुगेको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। शनिबार गाजा शहरको पश्चिममा रहेको व्यस्त क्षेत्रलाई लक्षित गरी इजरायली ड्रोनले मिसाइल प्रहार गर्दा चारजनाको मृत्यु भएको छ।

उक्त स्थानमा रेस्टुरेन्ट, पसल र विस्थापितहरूको आश्रयस्थल रहेकाले हताहतीको संख्या बढी भएको स्थानीय स्रोतले जानकारी दिएको छ। अल–शिफा मेडिकल कम्प्लेक्सका अनुसार आक्रमणमा परेका अन्य छजना घाइतेहरूको उपचार भइरहेको छ, जसमध्ये केहीको अवस्था गम्भीर छ।

अर्को एक छुट्टै घटनामा, गाजा सहरको उत्तरपूर्वमा रहेको मस्जिद नजिकै इजरायली हवाई हमला हुँदा ४४ वर्षीय मोहम्मद वालिद अल–नखालाको घटनास्थलमै मृत्यु भएको छ। सोही दिन अर्को एक कारबाहीमा आठ वर्षीया शाहद अब्दुल–रज्जाक अल–नज्जरले आफ्नो परिवारको टेन्टमा इजरायली ड्रोनबाट प्रहार भएको मिसाइलका कारण ज्यान गुमाएकी छिन्।

यसैबीच, दक्षिण गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सले अल–मावासी क्षेत्रमा भएको गोलाबारीमा घाइते भएका मौसा अबु दानको उपचारका क्रममा मृत्यु भएको जनाएको छ। शुक्रबारको चोटका कारण ज्यान गुमाउने उनी पछिल्लो पीडित हुन्।

गाजास्थित स्वास्थ्य अधिकारीहरूकाअनुसार अक्टोबर २०२५ मा हमास र इजरायलबीच युद्धविराम भएयता मात्र इजरायली आक्रमणबाट १ हजार ४ सय ८१ जनाको मृत्यु भइसकेको छ। अक्टोबर ७, २०२३ देखि सुरु भएको यो द्वन्द्वमा हालसम्म ज्यान गुमाउने प्यालेस्टाइनीहरूको कुल संख्या ७४ हजार ३ सय ७० पुगेको छ। अन्तर्राष्ट्रिय समुदायले मानवीय संकट गहिरिँदै गएको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन्।