काठमाडौँ –सर्वसाधारण लगानीकर्ताका लागि अप्पर स्याङ्गे हाइड्रोपावरको आइपिओ आज (आइतबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ६ लाख ५० हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात् ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।
यस्तै, ५ प्रतिशत अर्थात् ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र २ प्रतिशत अर्थात् १३ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको कम्पनीले बताएको छ।
सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। उक्त आइपिओमा असार १३ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि असार २४ गतेसम्म लम्बिनेछ।
