काठमाडौँ –आज असार १५ । विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै छ ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
नेपाली संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।
यस्ता शुभकामना निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भन्ने भनाइ छ ।
आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रूप लिएको छ ।
