काठमाण्डाै – त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । यसमध्ये पछिल्लो पटक १४ किलो सुन भन्सार कार्यालयले बरामद गरेको छ ।
घटनाबारे छानबिन गर्न भन्सार कार्यालयले बनाएको समितिले गरेको अनुसन्धानका क्रममा मीनबहादुरले दुबईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करीको चाँजोपाँजो मिलाएका थिए । समितिले बुझाएको प्रतिवेदनमा दुबईबाट अंकित अग्रवाल र गुरू भनिने दुई भारतीय नागरिकले मीन बहादुर घले र चन्द्र घलेमार्फत सुन पठाउने गरेको भेटिएको हो।
यसरी सुन ल्याउन मीनबहादुर र चन्द्र घलेसँगै स्याङ्जाका कृष्ण कुमार श्रेष्ठ पनि संलग्न थिए। त्यसरी ल्याइने सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफाइ, शौचालय, प्लम्बर, एसी लगायतमा सफाइ र मर्मतको काम गर्नेहरूले भन्सार चेकजाँच छलेर सुन बाहिर निकाल्ने गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
रमेश देउला, राधाकृष्ण श्रेष्ठ, अनिल श्रेष्ठ, लेक बहादुर तामाङ र शेरबहादुर बस्नेत लगायतका विमानस्थलमा सफाइदेखि शौचालयमा काम गर्ने जिम्मेवारी पाएकाहरूले सुनलाई चेकजाँच छलाएर बाहिर पुर्याउँथे। त्यसरी बाहिर पुगेपछि चन्द्र बहादुर घलेले सुन सम्बन्धित व्यक्तिलाई दिने गरेको अनुसन्धानबाट खुलेको छ।
मंसिर २२ गते सुन लिएर दुबईबाट आएका चन्द्र घलेले सेतो स्टकोटमा सातवटा गोजी बनाएर २/२ किलोका बिस्कुट आकारका ७ वटा सुन ल्याएका थिए। उनी भन्सार जाँच हुने स्थानमा नआई शौचालय जान लाग्दा भन्सार कार्यालयको टोलीले पक्राउ गरेको थियो। उनीसँग बयानका आधारमा विमानस्थलबाट यसैगरी १३८ किलो सुन भित्र्याएको बताएका हुन्।
