आजदेखि न्युरोड क्षेत्रका सडकमा सवारी पार्किङ निषेध, व्यवसायीले गरे सटर बन्द

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आजबाट न्युरोड क्षेत्रका सडकमा सवारी पार्किङमा रोक लगाएको छ । महानगरपालिकाका प्रहरी प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले  धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको जानकारी दिए ।

महानगरले सडकको विकल्पमा काठमाडौँ भ्यु टावर (साविकको पुरानो बसपार्क)मा निःशुल्क पार्किङ गर्न पाउने व्यवस्था मिलाएको छ ।

महानगरले सवारी पार्किङ निषेध गरेको क्षेत्रमा सरसफाइ अभियान चलाउने जनाएको छ ।

यसैबीच, महानगरपालिकाले पार्किङ निषेध गरेपछि व्यवसायीले भने विरोध गरेका छन्। पार्किङ नभएपछि ग्राहक नआउने भन्दै उनीहरूले सटर बन्द गरेर महानगरपालिकाको निर्णयको विरोध गरेका हुन् । न्युरोड क्षेत्रमा आज पार्किङ गरिएका सवारी साधन महानगर प्रहरीको टोलीले हटाएको थियो ।