‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ…’ , जस्तो अति लोकप्रिय कालजयी जनपक्षीय गीतका लेखक श्याम तमोटले लेख्नु भएको नेपालभाषाको ‘वया मां जि…’ र यस गीतको खस नेपाली भाषा भर्सन “आएँ आमा म …” गीतको म्यूजिक भिडियो एकसाथ सार्वजनिक भएको छ ।
आमालाई सम्झेर आउने यस मार्मिक गीतको संगीतकार र संगीत संयोजक प्रख्यात युवा संगीतकार सुरेन्द्र श्रेष्ठ हुनुहुन्छ ।
‘वया मां जि…’ नेपालभाषा भर्सनको गीतमा प्रख्यात गायिका रत्नशोभा महर्जनको आवाज रहेको छ भने खस नेपाली भाषा भर्सनको ‘आएँ आमा…’ गीतमा संगीतकार एवं संगीत संयोजक सुरेन्द्र श्रेष्ठ स्वयंको आवाज रहेको छ ।

‘क्वान्टिटी भन्दा क्वालिटी’ भिडियोमा प्राथमिकता दिँदै आइरहेको कीर्तिपुरको मगन इन्टरटेन्टमेन्टको द्वारबाट यस गीतको म्यूजिक भिडियो लोकार्पन भएको छ भने यस म्यूजिक भिडियोको निर्देशन मगन इन्टरटेन्टमेन्टका युवा फिल्ममेकर रजिन महर्जनले गर्नुभएको छ ।
केही महिना अगाडि मात्र मगन इन्टरटेन्टमेन्टको द्वारबाट रजिन महर्जनकै निर्देशनमा प्रख्यात गायक जुजुकाजी रन्जितको आवाज तथा संगीतमा आर. मानन्धरले लेख्नु भएको नेपालभाषाको प्रख्यात गीत ‘छंगु म्हगः गुलि बांलाः…’ गीतको म्यूजिक भिडियो मगनको अफिसियल यूट्युब च्यानलबाट लोकार्पन भइसकेको छ । यस गीतको म्यूजिक भिडियोलाई धेरै दर्शकहरुले एक उत्कृष्ट म्यूजिक भिडियोको रुपमा लिएको देखिन्छ ।

त्यसै गरी, मगन इन्टरटेन्टमेन्टको द्वारबाट यस अघि पनि कीर्तिपुरको भूवन महर्जनको शब्द र संगीत तथा हङ्गकङ्गमा रहनु भएका राजेन्द्र डंगोलको आवाज रहेको ‘व मनू सु मनू…’ बोलको गीतको म्यूजिक भिडियो पनि रजिन महर्जनकै निर्देशनमा मगनको यूट्यूब च्यानलबाट लोकार्पन भइसकेको छ । यस गीतबाट धेरै अवार्ड पनि जितिसकेको छ ।

