पेनाल्टीसुटआउटमा नेपाललाई हराउँदै जोर्डन च्याम्पियन

काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ । नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो । पेनाल्टीमा नेपालका लागि गीता राना, दीपा शाही र हिराकुमारी भुजेलले गोल गरेकी थिए। तर चौथो पेनाल्टी हानेकी अमृती जैशीको प्रहारलाई जोर्डनकी गोलकिपरले विफल पारिन्। जोर्डनले भने पाँचै पेनाल्टीमा गोल गर्न सफल भयो।

त्यसअघि निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएको थियो। खेलमा नेपालले सविता रानामगरको गोलबाट खेलको २९ मिनेटमा अग्रता लिएको थियो। जोर्डनले ७४ मिनेटमा बराबरी गोल फर्कायो। ८९ मिनेटमा जोर्डनले अर्को गोल गर्दा खेलमा नेपाल २-१ ले पछि परेको थियो। तर इन्जुरी समयमा नेपालले पेनाल्टी पायो। जोर्डनका खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरिन्।

खेलपछि नेपाली टोलीकी सदस्य दीपा शाहीले निर्धारित समयमा राम्रो खेलपनि पेनाल्टीमा पुगेर पराजित हुनुपरेको भन्दै भावुक बनेकी थिइन् । उनले सावित्रा भण्डारीलाई मिस गरेको बताइन् । ‘हामीले ९० मिनेटमा फाइट गर्‍यौँ राम्रो गर्‍यौँ । तर खेल पेनाल्टीमा गयो । हामीले साम्बा दिदीलाई मिस गर्‍यौँ । पेनाल्टी खेलको पार्ट हो र हामी पराजित भयौँ । सबै समर्थकलाई धन्यवाद ।’