ललितपुर – वर्षा, सहकाल तथा करुणाका देवता मानिने रातो मच्छिन्द्रनाथलाई रथारोहण गरिएको छ । रथारोहण गर्नको लागि हिजो देवतालाई कटुवाल दहमा लिन गएकोमा त्यहाँ विशेष पुजा गरेर दिउँसो पाटनको मच्छिन्द्रबहालमा ल्याएपछि मच्छिन्द्रबहालमा विशेष पुजा गरी बेलुकी पुल्चोकमा निमार्णाधिन रथमा मूर्तिलाई रथारोहण गरिएको हो ।
काठमाण्डौ उपत्यकामा खडेरी परेको बेला त्यसबेलाका राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचार्य र ललित ज्यापुले भारतको कामारुकामाक्षबाट रातो मच्छिन्द्रनाथ ल्याएको विश्वास छ । त्यहि प्रतिक स्वरुप हरेक वर्ष कटुवाल दहबाट रातो मच्छिन्द्रनाथलाई ल्याउने गरिन्छ । यता, रातो मच्छिन्द्रनाथको रथको अघिपछि लगाएर तानिने मीननाथको रथमा यवाल गुथियारहरुले बेतले बाध्ने काम गरिरहेका छन् । भोलि मीननाथलाई रथारोहण गरेर पुल्चोकसम्म तानिनेछ ।
त्यसपछि रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गाःबहालसम्म तानिन्छ । यसरी रथ तान्दा मीननाथको रथलार्ई अघि लगाएर रातो मच्छिन्द्रनाथको रथ तानिन्छ ।
